सम्झन्छु म ... अझै पनि... उसै गरि तिम्लाई ।
विर्सिएकाे जस्ताे गर्छु म देखाउनलाई ...
खबर  सुने पछि नराम्राे लाग्याे । 

लागि हाल्छ नि हैन ?  जिन्दगीमा हरेक कुरा आफुलाई मन परेकाे, चाहेकाे सबै त कहाँ मिल्दाे रहेछ त।  धेरै कुरा मिल्नु पनि कहिले काँही एकदमै असाह्य र घातक बन्ने रहेछ । माया उसले मात्र गरेकाे थिएन हजुर । मैले नि उसलाई गरेकाे छु । याे जिन्दगी मैले पनि उसैकाे लागि सुम्पिई सकेकाे हाे । तन सुम्पिन सक्नु न सक्नु त्याे मेराे एक्लाे निर्णय नहुनु अलग कुरा हाे तर मेराे मनकाे शिलालेखमा उसकाे नाम मैले गहिरै कुदेकाे छु । मेराे बाध्यता, बिवसताकाे पनि त एउटा आफ्नै कथा छ नि ।

आत्माहत्या गर्नु कायरताकाे निशानी हाे याे कुरा गलत छ किनकी त्यसकाे लागि ठुलाे हिम्मत चाहिदाे रहेछ जुन मैले जुटाउन सकिन। आलाेकले जुन दिन हाम्राे घरमा आएर बिहे नहुने कुरामा छलफल भयाे त्याे दिन देखी उसले मलाई भनेका हरेक कुराले मलाई अधकिल्चाे बनाउथ्याे । हरेक पल्ट उसले मलाई भागेरै बिहे गराै भनेर कर नगरेकाे पनि हुदैन थियाे । म उसकाे लागि सबै थाेक छाेडेर जान पनि कसरी सक्थे हाेला त ? बेला बेला आउथे मनमा उसँग कतै टाढा गएर जिन्दगी बिताउ। हाम्राे सानाे घर हाेला, त्यसमा उ र म अनि हाम्रा साना साना छाेरा छाेरी। आलाेक दिउसाे अफिसबाट फर्किनु, उ फर्केर आएकाे बेला म खाना बनाउदै गरेकाे हुनु । उसले मलाई पछाडीबाट आखाँ छाेपेर सर्पराई दिनु । यि सबै कुरा उसैले मेराे मन मस्तिष्कमा कहानी जसरी छापेकाे थियाे र म नढाटी भन्ने हाे भने यही कुरामा धेरै पल्ट दाेहाेरिएकाे पनि देखेकाे छु ।  कति आनन्द आउछ याे कुरा सम्झिदा पनि । लाग्छ कि एउटा पुर्ण जिन्दगी सायद यसैलाई भनिन्छ हाेला । भागेरै उसँग जान्थे भने पुरा हुन्थियाे पनि हाेला तर के त्याे मेराे सानाे र सुखी सपनामा मेराे बुबा आमा पनि अटाउनु हुन्न भने म किन त्याे सपना देखाै जसमा म आफुलाई आमा भएकाे देख्छु? 

चकनाचुर हुदै थिए मेरा हरेक सपना, ईच्छा र आकांक्षाहरु र याे प्रकृया हरेक दिन घट्थे । हरेक कुरा देखी मन मर्दै आएका थिए । राम्रा पनि नराम्रा लाग्न थालेका थिए, मिठा र नमिठामा पनि खासै फरक लाग्न छाेडिसकेका थिए । जुन बाल्यकालमा हाउगुजीकाे एउटा डर हुन्थियाे नि सायद त्यसमा जिन्दगी र जिवनकाे लाेभ हुन्थिए हाेला ति सबै बिस्तारै मर्दै मर्दै  जादै थिए । जिन्दगीमा मलाई बाँच्नु भनेकाे सास फेर्नु भन्दा धेरै केही लाग्दैन थियाे तर जब आलाेककाे कुरा मेराे कानमा पर्याे तब मेरा हरेक सासकाे भार बढेर आएका थिए । जसले मलाई क्रमस थकाउदै जान्थियाे । मलाई जिन्दगीमा अरु केही पाउने ईच्छा थिएन तर मैले मेरा बुवाआमाकाे खुशीकाे लागि, उहाँहरूकाे ईज्जतकाे लागि भए पनि मैले बाचिदिनु पर्ने कर लागेकाे थियाे जसकाे बारेमा म कसैलाई दाेस्न सक्दिन । 

बिहेकाे लागि यति छिटाे तयारी भयाे कि मलाई मेराे जिन्दगीमा के हुदै छ त्याे  सपना हाे या बिपना हाे छुट्याउन गाह्राे भईरहेकाे थियाे । सबै जना हाँसीखुशी मेराे बिहेकाे लागि तयारीमा लागिसक्नु भएकाे थियाे । भाई बहिनीहरु अस्मि दिदीकाे बिहेमा यस्ताे उस्ताे भन्दै तयारी गर्दै थिए । सबै थाेक एकदम तिब्र गतिमा भईरहेकाे थियाे । म बुझ्न सक्छु त्याे तिब्रतामा संकाहरु थिए । कतै आलाेकले मलाई भगाउने त हैन?, कतै म बाट केही गल्ति हुने त हैन ? भन्ने कुरामा साबधानी अपनाउदै हतारै सहि बुबाआमाले आफ्नाे कर्तव्य निभाउनकाे लागि हतार गरेकाे म बुझ्न सक्थिए । 


बिहेकाे लागि अरु ३ दिन बाकी छ तर मेराे हातमा गर्न सक्ने केही छैन । केशब दाईले मलाई फाेनमा आलाेककाे सबै कुरा बताउनु भयाे । मलाई त्यही बेला याे संसार छाेडेर जाै भएकाे थियाे । म राेई रहे । मेराे काेठा बन्द थियाे र म राेई रहेकै थिए । करिब १ घण्टा पछि तलबाट बहिनी आाई र ढाेका खाेल्न लगाई। मलाई उठेर ढाेका खाेल्न हिम्मत आएकाे थिएन तर उ मेराे एकदमै खास मान्छे हाे । मेराे काकाकी छाेरी नम्रता । उसलाई मैले मेराे कहानी सबै थाेक भनेकाे थिए । आलाेककाे बारेमा सबै कुरा थाह थियाे उसलाई । उ आजै मात्र आएकी थिई तर म उसँग बाेलेकी थिईन । उ भर्खरै पुलिसमा भर्ति भएकी थिई । +२ काे परिक्षा सकेर उ प्रहरीमा भिडेकी मान्छे म  सँग धेरै मिल्थि। मैले उसलाई सबै थाेक भनि सकेकाे थिए तर पछिल्लाे केही समय म उसँग सम्पर्कमा थिईन । जुन दिन देखी आलाेकसँग  बुवा आमाकाे कुराकानी भएको थियाे त्यो दिन देखी उसँग मेराे कुराकानी हुन पाएकै थिएन । 

"दिदी सुन्न.. हुने वाला भेनाकाे त एक्सिडेन्ट भएछ नि । एकदमै ब्लिडिङ भएर हस्पिटलमा छन अरे त। तल सबै जना टेन्सनमा छन यार  ।" उसले हतारिदै भनि । मलाई झन गाह्राे भयाे  । अचानक मेरा आखाँबाट आँशुकाे धारा अविरल वग्न थाले । हिक्क हिक्क हुदै थियाे, बाेली केही आई रहेकाे थिएन । चक्कर लागेर आयाे  । सबै तिर कालाे देख्न थाले अचानक स‍ंसार नै घुमेर आयाे र म बजारिए । मुटुकाे धड्कन एकदम बढेर आयाे र म त्यही बेहाेस भएछु । 

खै कति बेर म त्यसरी नै अचेत थिए त्याे त मलाई याद छैन तर जब हाेसमा थिए तब सबैले मलाई वरिपरी घेरा हालेकाे थिए। मलाई एकदमै अफ्ठेराे भयाे । म बेडमा थिए । डाक्टरलाई बाेलाएकाे रहेछ ।मलाई अफ्ठेराे भएकाे डाक्टरलाई थाह भयाे र सबैलाई डिस्टर्व नगर्न भनेर बाहिर पठाईयाे । "आमा, खै बुवा? " मैले साेधे ।
"हस्पिटल जानु भएकाे छ बुवा। तँलाई के भयाे नानी यस्ताे ?"आमाले  मेराे कपालमा सुम्सुमाउदै भन्नु भयाे ।
"आलाेकलाई अहिले कस्ताे छ अरे ? के उसकाे ब्लिडिङ राेकियाे ? बुबालाई साेध्नु न प्लिज एक पल्ट " मैले भने ।
"आलाेक?  के भयाे र त्यसलाई साेध्नु पर्याे ?  " आमाले छक्क पर्दै साेध्नु भयाे ।
"अ..  उसैकाे लागि बुवा जानु भएकाे हैन र?" मैले भने ।
"हुनेवाला बेहुलाकाे एक्सिडेन्ट भएर बुवा जानु भएकाे छ । आज साथीहरुलाई निम्ताे दिन गएकाे बेला एक्सिडेन्ट भएछ । तँलाई कस्ले आलाेककाे भनेर भन्याे?" आमाले साेध्नु भयो।
"केशब दाईले भन्नु भएकाे । आलाेकले हातकाे नसा काटेर हस्पिटलमा छ अरे । ममी प्लिज मलाई आलाेक सँग भेटाउनु न । उसलाई केही भयाे भने म पनि मरिदिन्छु । " मैले रुँदै भने।

ममिले केशबलाई फाेन गर्नु भयाे । कुरा साँचाे हाे भन्ने थाह भए पछि उहाँकाे हातबाट फाेन खस्याे । उहाँ पनि लल्याक लुलुक हुनु भयाे । मैले भने । "ममी म बिना उ पनि मर्छ । म पनि उ बिना बाँच्न सक्दिन । जसरी हुन्छ मलाई आलाेक चाहिन्छ ममी बरु मलाई मर भन्नु म मरिदिन्छु ममी म त्याे अर्काे मान्छे सँग बिहे गर्दिन ममी  " मैले सम्हाल्न सकिन मैले ममिलाई अंगालाे हालेर रुदै भन्न थाले । 

"बाहिर पाहुना छन । तेराे हुनेवाला बेहुलाकाे एक्सिडेन्ट भएकाे छ तेराे जिद्दी सगाेत्री केटा सँग बिहे गर्ने छ ।म कसरी के गराै भन त आँफै । मलाई पनि आलाेक राम्राे लाग्छ । उसले तँलाई माया गर्छ त्याे पनि बुझ्छु तर जानी बुझी म के चहीँ गर्नु ? तेराे बिहे हुन मात्र दुईवटा कुराले सम्भव हुन्छ छाेरी.." ममिले भन्दै हुनु हुन्थिययाे मैले तुरुन्तै साेधे "कुन कुन कुराले ममी म जसरी हुन्छ गरेरै छाेड्छु ।" 

" कि अर्काे जन्ममा, कि चमत्कारै भयाे भने मात्र।  आँफै बुझ कति सम्म सम्भव छ भनेर" आमाले भन्नु भयाे । 

कुरा उल्झाउने थियाे। आमाले मलाई हुदैन पनि भन्नु भएन तर हुन्छ भन्ने कुनै आशा पनि नरहने कुरा भयाे । हामी छाेरी मान्छेकाे जिन्दगी यस्तै हुन्छ । देख्दा नारी पुरुष बराबर। छाेरा छाेरी एक समान सबै थाेक सुन्नमा सुनिरहु लाग्ने कुरा प्राय सबै यस्तै चमत्कारवाला नै हुन्छन । मलाई यति विश्वास भयाे कि अब साच्चै नै मलाई लाग्याे कि मेराे अब केही हुदैन । म पनि बरवाद भए । म पनि सक्किए । मेराे पनि दिमागमा आउन थाल्याे ।

हाम्राे जात पनि सेम..
हाम्राे उमेर पनि सेम..
हाम्राे पढाई पनि सेम..
हाम्राे मन पनि सेम..
साला.. हाम्राे गाेत्र पनि सेम, डिएनए पनि सेम, बल्ड पनि सेम ..

यही ब्लड हैन जसले गर्दा म उसकाे हुन सकिन?


बस एउटै कुरा साेचेर म बेला बेला पछुताे लाग्छ । धन्न मैले पनि आलाेकले जसरी हात काटिन । किनकी जिन्दगीमा चमत्कार पनि हुदाे रहेछ । जिन्दगी, जवानी‌, पानी र समय जतिबेला पनि पल्टिन सक्दाे रहेछ । बेला बेला मरिसकेकाे जिन्दगी पनि बौरिदाे रहेछ । जसरी हाम्राे भयाे । हाम्राे बिहे भयाे । आलाेककाे र अस्मिकाे । बुवाआमा कै मर्जीमा भयाे । जिन्दगीमा हिम्मत हार्नु हुदैन । चमत्कार हुन्छ । याे कुराकाे जिउदाे प्रमाण छ म सँग ।