कर्म...

एउटा कन्ट्राक्ट आएको छ । एउटा मान्छेको ठेगान लगाई दिनुपर्यो भनेर । के गर्नु यार पापी पेटको सवाल छ । काम राम्रो होस या नराम्रो होस गर्नु आफ्नो धर्म त गर्नै पर्यो । एकजनाको अपहरण गर्नु पर्ने छ । अनि फिरौति रकमको आधा रकम मेरो । तर काम पनि त सानो छैन नि । कसैको फिरौति निकाल्न सक्नु ठुलो खुबीको कुरा हो । ज्यान माथिको जोखिम अर्को कुरा छ । साला ज्यानको माया कसलाई लाग्दैन यार । समाजमा हामीलाई अपराधी भन्छन । भन्नेहरुले त हामीलाई बिच बाटोमा झन्डाएर मार्नु पर्छ पनि भन्छन् । तर एउटा कुरा नि, कोही मान्छे पनि रहरले अपराधी बन्दैन् । अनि जन्मजात कोही पनि अपराधी हुदैन । यही समाजले हो हामीलाई अपराधी भन्ने अनि बनाउने पनि । कारण धेरै छन जसले एउटा कुनै पनि मान्छेलाई असल र अपराधी मध्येको एक बनाउछ । कोही रहरले बने होला तर म बाध्यताले बनाईए। कारण एउटै मात्र छैन जसलाई दोषेर पानी माथिको ओभानो हुनु पनि छैन । धेरै कारणहरु मध्येको सबै भन्दा पहिलो कारण गरिबी । यो यस्तो शब्द हो जसलाई म यति घृणा गर्छु जसलाई म शब्दमा वयान गर्न सक्दिन । यो सरिरमा चेतना आए देखि सम्झिने हो भने मलाई याद आउदैन कि मैले मागेर कहिले पो आफ्नो ईच्छा पुरा गर्न सके भनेर । उद्देक लागेर आउछ जब कसैले जिन्दगीको परिभाषा दिन्छ । ए साला साहित्य छाट्न सक्दैमा गरेको परिभाषामा के जिन्दगी छ यार हामी जसले त्यो जिन्दगी भोगेका छौ त्यो देख्नेले के तारिफ गरे होला र यार ? जिन्दगी, गरिबी अनि महत्वकाक्षां यति मजाले चेपिएका ट्रेङ्गल हुन नि जुन देखिन्छ एउटा, हुन्छ अर्को । म चाहन्छु यदि अर्को जन्म यदि मिल्छ भने कागको जुनी परोस तर मान्छेको नपरोस । कागको जिन्दगी, न कसैको प्यारो हुनु छ । न कसैले रुचाओस न थुनेर राखोस , हुदाँ सम्मको प्रिडम अनि नित्तान्त आफ्नो जिन्दगी न कसैले कसैको नराम्रो चिताउदैन । बरु खुशी लाग्छ देख्दा जब एउटा काग समस्यामा पर्छ तब सबै कागले उपस्थिति जनाउछन । मन त कसैले पराउदैनन् तर पुजा गरिन्छ । मन लागे उड्छ, अल्छी लागे हिड्छ । मन परे मासु नपरे भात । अरे यार लाईफ त त्यो हो नि यार । थाह छ ? मलाई मान्छेको जुनी किन मन पर्दैन भनेर? कथा लामो छ । ठिकै छ त्यो पनि म भन्छु नि किन भनेर ।




जब म बच्चै थिए तब मेरो जन्म भएको थियो । मलाई मेरो आमाले जन्म दिनुभएको थियो । अनि मेरो आमा एक नारी हुनुहुन्थियो । मेरो लाईफमा एकदम ट्राजिडी भएको छ क्या । आफै बिचार गर्नुस न अनि । म मेजर ईग्ंसिसमा मास्टर्स गरेको मान्छे है । ईग्ंिलसमा म एकदम फ्लुयेन्ट छु । साथीहरुले मलाई एकदम रमाईलो मान्छे भनेर चिन्थे । एक जमाना यस्तो थियो कि साथीहरु मलाई भनेर ज्यान दिन तयार थिए तर अहिले म आफै बेला बेला अन्योलमा पर्छु आखिर मेरो जिन्दगीको उद्देश्य के हो? मलाई पनि ईच्छा लाग्छ मेरो पनि एक सुकुनको जिन्दगी होस । मलाई पनि सबैले माया गरुन अनि मेरो पनि दुःख सुख बाड्ने कोही होस जसलाई म आफ्नो भन्न सकौ । तर मेरो यो ईच्छा कहिले पनि मेरो भाग्यलाई हजम भएन । म बढ्दो उमेरमा दिन दुई गुणा रात चौगुना एक खुंखार अपराधी बन्दै गए । त्यही भएर हरपल मेरो दिमागमा डर र त्रास रहिरहन्छ । रहर थिएनन् मेरा पनि कसैलाई दुख दिएर आफु रमाउने । भन्न त मलाई अपराधी नै भन्छन तर म पनि मान्छे हो बुझ्छु । म नराम्रो , सबैले भन्छन तर राम्रो त म अरुलाई पनि त देख्दिन । यसको मतलब यो हैन कि मेरो नजर दोषी त दुनिया दोषी, म निर्दोषलाई निर्दोष नै देख्छु तर जो कोही पनि मेरो जिन्दगीमा आजको दिन सम्म आए ति सबै दोषी नै थिए जसलाई म देख्छु । कसैलाई दुखः दिनु अपराध, सहनु पनि त अपराध । देखेर केही नबोल्नु अपराध । केही नबोलेको फाईदा उठाएर गर्ने अपराध जघन्य अपराध । अनि जब यो संसारले देख्छ तब हामी मात्र अपराधी । यो जायज छैन । मलाई बुझ्ने कोसिस गर्नुहोस । म जन्म जात अपराधी हैन । म यही समाजमा जन्मेको, एक निष्पाप एक बालक अनि त्यही समाजमा हुर्केको एक अबोध बालक जसले तँपाई जस्तो शिक्षा पाएन र आज त्यही कुराको फरकमा एक तँपाई अनि एक म अनि हाम्रो परिस्थिति भएको छ आज हामी बिचको एक दिवार ।




गरिबी । एकदम गरिबी थियो । मेरो एउटा सानो घर । छोडौ, के घर भन्नु एउटा कटेरो थियो । जब पानी पर्थियो तब छानोमा पानी दर्किन्थियो च्यार च्यार च्यार गर्दै अनि दिदी र आमाले ओछ्यान समेटेर डल्लो बनाएर राख्नु पर्ने । खरको छानो अनि परिवारमा ४ जना, जहानमा दुई सन्तान स्वरुप एक म अनि अर्को दिदी । दिदी म भन्दा ५ बर्ष जेठी हुनुहुन्थ्यो । जिन्दगीमा सबै थोकको अभावै अभाव, स्कुल गईन्थियो तर सँधै हामीलाई पुरानो कपडामा देखेर सबैले होच्याउने हुनाले खासै स्कुल जाउँ पनि लाग्दैन थियो । सानै थियौ, हामीलाई पनि मन लाग्थियो नि स्कुल जाँदा मिठाई खान्थे साथीहरु । तर कहिल्यै खान्छस भनेर सोध्नैन थिए । किनकी थाह थियो उनीहरुलाई हामीले कहिल्यै उनीहरुलाई खुवाउने छैनौ भनेर । मुखमा पानी आउथ्यो जब अरुले खाएको देखिन्थयो तर हाम्रो भाग्यमा कहाँ हुनु र । स्कुल गएको बेला पछाडीको सिटमा बस्नु पर्ने । हाम्रो रहर हैन, बाध्यता थियो । किनकी अगाडी त एकदम टेलेन्टहरु बस्थे, सर मिसका प्याराहरु । जो एकदम सफा सुग्घर लुगामा आउथे । सोधेको जे पनि फ्याट फ्याट भन्नेहरु अनि हामी भनेको सँधै पुराना लुगा । सँधै भरी एउटै लुगामा अनि होमर्क नगरेको भनेर सँधै पिटाई खाने विद्यार्थीहरु । एक पल्ट साहै्र मन लाग्यो । अगाडीको सिटमा गएर बस्न मन लाग्या थियो । गएर बसे पनि ।त्यो दिन होमवर्क पनि गरेर गएको थिए । आहा, कति राम्रो लाग्दो रहेछ । सबै थोक नजिकबाट देख्न पाउदा पो कक्षा पनि कक्षा जस्तो लग्ने । तर अनुभब खल्लो भयो किनकी मलाई त्यहाँ बसेको न मेरा समकक्षीले रुचाए न शिक्षकहरुले नै । सबै जना म देखी दुरी बनाएर बस्ने अनि शिक्षकले पनि मलाई भरसक छेउ आउनै नपरे हुन्थियो गर्ने । होमवर्क त मैले पनि गरेको थिए तर मेरो होमर्वकले ईज्जत पाएन किनकी मेरो त्यो कापी पनि गरिब थियो । सायद धेरै वर्ष कटेरोमा रहेर होला, पानी र ओसबाट जोगाउदा जोगाउदै पनि रगं त्यसको सेतो देखी पहेलो भएको थियो । कहिले एउटा जडियाको लात्ति र झट्टी सहेको मेरो कापीले सजिलै एउटा अबजस सुन्यो । “जतन गर्न जान्दैस? जस्तो आफु फोहरी छस त्यस्तै कापी लिएर आएको छस त । तेरो आमाले ख्याल गर्नुहुन्न कि क्याहो? भोली आउदा बुबालाई लिएर आईज स्कुल.. ” । होला, कुरा मेरै सुधारको लागि भनिएको थियो तर फोहरी देखिनु मेरो रहर थिएन, मलाई पनि सफा सुग्घर भएरै हिड्न मन लाग्थीयो, मलाई पनि चकचक सेतो पाना मै लेख्न मन लाग्थियो तर त्यो सुन्दा मनमा धेरै कुरा मनमा आए तर मेरो मुख निश्तब्द भयो आमालाई लापपरवाह भनेर त्यस जडियालाई मेरो जिन्दगीको नेपथ्य नबुझि मेरो जिम्मेवारीको लागि बोलाईयो जसले गर्दा उमेर सानै भए पनि मलाई नराम्रो लागेको थियो । त्यही कुराले पनि मलाई स्कुल जान मन लाग्दैन थियो पनि । फेरी के पर्ला, तेरो बुबालाई लिएर आईज नै भन्ने हुन भन्ने लाग्थियो । बरु त नजाने, गए पनि पछाडीको सिटमा बस्ने गर्न थाले । । दिदीलाई त छात्रा भएको हुनाले बेला बेला छात्रवृति पनि दिन्थे तर मलाई केही न केही त्यही भएर पढ्न खासै मन लाग्दैन पनि थियो ।

सोच्थे कुनै दिन म शिक्षक हुनु भने म त विद्याथीहरुलाई यसरी भेदभाव गर्दिन थिए होला । किन यसरी आईस भने सोध्नु भन्दा के भएर यसरी आईस भनेर सोध्थे होला । यदी पुरानै कापीमा भएपनि होमवर्क गरेर ल्याएको भए एक नजर हेरेर स्यावासी दिन्थे होला । ट्यालेन्टलाई मात्र नच्यापेर सबैलाई ट्यालेन्ट बनाउथिए होला । कुनै दिन गर्ने छु यहि सरलाई देखाउन भए पनि भनेर सोच्थे प्रायः जब स्कुल नगएको भनेर पिटाई खानु पर्थियो ।आउदा पनि कुन ईज्जत पाईन्थीयो र जानु जस्तो लाग्थीयो पनि तर मेरो मन धेरै बोल्थे मुख नबोले पनि ।

बाउ भनौदो जडिया जसले आमालाई हरेक रात पिट्ने, घर त के भनौ एउटा कटेरो त्यहाँबाट बेच्न मिल्ने हरेक चिज बेचेर सकेको थियो ।हामीलाई जिन्दगीमा कहिल्यै त्यो मान्छे हुनुको कुनै पनि लाभ भएन । भनिन्छ नहुनु भन्दा कमसेकम भएकै राम्रो तर देख्नेले त हरेक देखे होला तर हाम्रो जिन्दगी देखेनन् । हरेक दिन पिटाई खाने त्यो पत्निलाई तिनीहरुले देखेनन्, छोराछोरीले केही मागिहाले “तिमेरु मेरो मजाको चक्करमा जन्मेकाहरु मलाई सोधेर जन्मेको थिईस र? के चाहिन्छ मलाई सुनाउने हैन। चाहे मर कि बाँच मलाई मतलब छैन” । यस्ता बचन प्राय सुनि रहिन्थयो। सानै थिईम तर मर्नु र बाँच्नुको कुरामा मतलब छैन भन्ने सुनिनै रहिन्थीयो । तर आमाले हामी दुई सन्तानलाई भनेर पुरा जिन्दगी नै दिनु भएको छ, मलाई आमाको याद आउछ । जब म सम्झिन्छु उहाँलाई तब मेरा आशु वग्छन यति कि मलाई अनि चहिँ अनुभव हुन्छ कि म पनि एउटा मान्छे हु भनेर ।

“बाबु... मेरो नानी कता छ? यता आउ त । ” आमाले भन्नु भयो ।

त्यो एकदिन थियो खुशी हँुदै म दर्गुदै गए । अनि आमाले मलाई आँखा बन्द गर्न लाउनु भयो । अनि मैले गरे पनि । मलाई उहाँले लुगा फेराई दिनु भयो । अलिक ठुलो भए जस्तो अनुभब हुदै थियो । मैले आखाँ खोले । हो रहेछ । मलाई लुगा ल्याई दिनु भएको रहेछ । म रमाए । कति खुशी लाग्यो । नयाँ लुगा देख्न पाउदा । मलाई आमाले भन्नु भयो ।

“ आम्मै । मेरो बाबु कति ह्यान्डसम देख्येको ? भोली पर्सी ठुलो भएर त टाईसुट लाएर हिड्छ होला मेरो बाबु त ।”

“आमा, साच्चै म राम्रो देखिए त? ठुलो भए पछि टाई सुट पनि ल्याईदिने?” मैले सोधे ।

“ लौ ठुलो भएपछि त मेरो छोराले आफै धेरै पैसा कमाउछ, विदेश जान्छ, टाईसुट लगाएर हिड्छ । मलाई चहिँ के किन्दिने होला?” आमाले मलाई अंगालोमा बेर्दै भन्नु भएको थियो ।

जब म यो घटना सम्झिन्छु तब मेरो भक्कनो छुटेर आउछ । आमा । म तँपाईलाई धेरै माया गर्छु । आज म फेरी फेरी टाई सुट लगाएर हिड्छु तर तँपाई हुनु हुन्न । मलाई कसैले त्यो मायालु पारामा कसैले तारिफ गर्दैन आमा । म एक्लो भएको छु । आज मैले सबै थोक पाएको छु तर एउटा तँपाई पाउन सकिन, तँपाई सोध्नु हुन्थियो म के किन्दीन्छु भनेर तर आमा । आज जे भनेपनि दिन सक्छु तर तँपाई हुनुहुन्न आमा । तर म..




साथीहरु म खुशी थिए । नयाँ लुगा पाँउदाको खुशी एकदमै थियो तर त्यो लुगा नयाँ थिएन । किनकी आमाले त्यो लुगा काम गर्ने ठाँउमा त्यहाँको बच्चाको लुगा ल्याउनु भएको थियो तर मलाई त्यो पनि ठुलो कुरा हो । खाना मिठो भनेको त्यसरी नै यदि आमाले आफुलाई दिएको नखाई ल्याउनु भएको हुन्थियो भने त्यही हुन्थियो । कसैले खानु भनेर दिएको खाना पनि आमाले हामीलाई भनेर ल्याई दिनु हुन्थियो । स्वाद त सबैलाई नै आउने हो, मिठो लाग्ने त सबैलाई नै लाग्ने होला तर आमाले “मलाई मिठो लाग्दैन, खाओ तिमीहरु” भन्दै ल्याईदिनु हुन्थियो। घरमा पाक्ने खाना त के खाना भन्नु त्यस्तै त हो नि । तर खै कुन जुनिमा मेरो आमाले पाप गर्नु भएको रहेछ र यति खत्तम पतिको फेला पर्नु पर्यो । हद त त्यति बेला हुन थाल्यो । जब दिन बड्दै जान थाल्यो तब आमालाई पिट्न धेरै थाल्यो ।, हामीलाई पनि पिट्न थाल्यो । ज्यादति दिन प्रतिदिन बढिरहेको थियो । एकरातको कुरा हो ।

एकरातको कुरा, हामी खाना खाएर भित्र बसेका थियौ । म सानै थिए । करिब ९ बर्ष जतिको थिए । मलाई अरुकुरा याद छैन तर त्यो दिनको घटना याद छ । हामी सुत्ने तयारीमा थियौ । बाहिरबाट जडिले बोलायो । दिदी त्यो दिन साथीकोमा जानु भएको थियो । सायद त्यो दिन साथीको जन्मदिन थ्यो क्यार । त्यति बेलाको समयमा जन्मदिन पनि फरक तरिकाले मानाईन्थियो। दिउसो पुजा अनि बेलुका पुजा पश्चातको मंगल गर्ने चलन अनि साथीहरु भेटिदा छोरीमान्छेको त्यस्तै त हो नि । घरमा आमा र म मात्र थियौ । जडिया घर आएको थिएन । त्यही पुंग्रोलाई पर्खेर आमा बसिरहनु भएको थियो । मलाई सुताउदै । अनि बाहिरबाट आवाज आयो । टिनको ढोका भाँचुला जसरी हिर्काउन थाल्यो ।

“ ऐ कमली, खोल ढोका ।”

म निदाएको थिईन । आमाले ढोका खोल्नु भयो । अर्को एक जना मान्छे पनि आएको थियो । एउटा गन्ध जुन मैले हरेक दिन महशुस गर्दै आएको थिए, जसलाई जाँडको गन्ध भनिन्छ । त्यही गन्ध फेरी पनि कोठामा फैलियो । जब जडिया घरमा आउथ्यो तब मलाई डर लाग्थियो किनकी हरेक दिन एक न एक रडाको नमच्एिको दिन हुदैन थियो । त्यही भएर म निदाए जसरी नै सुतिरहे । आमाले सोध्नु भयो ।

“उहाँलाई त चिनिन नि । ” आमाले अपरिचित अनुहार देखेपछी सोध्नुभयो ।

जडियाले आमाको कुरा सुने नसुने जस्तो गरेर त्यो मान्छेसँग कुरा गर्न थाल्यो । “यही हो मेरो बुढी, जे गर्नु छ गर्नुस्, पैसा मलाई भनेको जति नै दिनुपर्छ । अरु कुरा जान्दिन । जे गर्न मन लाग्छ, जति गर्न मन लाग्छ गरे हुन्छ । ओके ईन्जोए” रक्सिको बोतल मुखमा हाल्दै बोल्दै थियो ।त्यति भनेपछि उ बाहिर निस्कियो । आमालाई पनि लक्षण ठिक लागेन त्यही भएर आमा पछाडी सर्न थाल्नु भयो । पछाडी बाटामा भाँडा थिए राखिएका त्यही ठोकिएर भाँडा लड्यो । त्यहीँ भएर अर्को चर्को आवाज मेरो कानमा पर्यो । म डराए । त्यो जडिया बाहिर गयो । आमा चिच्याउन खोज्नु भयो तर त्यो मान्छेले दिएन, सायद आमाको मुख बन्द गरिदिएको थियो होला । उमम... उमम.. गर्दै दबिएको आवाज मेरो कानमा परिरहेको थियो । मलाई आँखा खोल्ने आँट आएन म आँखा बन्द गरेर सुतिरहे । कति पिडा भएको थियो होला, कति ग्लानी भएका थिए होलान् तर म असहाय दिए । मैले केही गर्न सक्ने थिईन । आमाको गोडाले लागेर कहिले जगको पानी घोप्टिएको आवाज अहिले हिर्काउदाको आवाज आउथ्यो मलाई झन धेरै डर लागिरहेको थियो । मलाई त्यो रात कहिले सकिन्छ जस्तो भएर आउदै थियो । करिब आधा घण्टा जति त्यही क्रम चलिरहयो अनि एकाएक फेरी सन्नाटा छायो । त्यो मान्छे उठेर जान लाग्यो अनि आमा भित्तामा अडेस लागेर रुन थाल्नु भयो । त्यो जडियाले बाहिर त्यो मान्छे सँग कुरा गर्दै थियो । म बुझ्न सकिरहेको थिईन आखिर हुदै के छ भनेर । त्यो मान्छेसँग आमाको के रिसिभी थियो र त्यस्तो गर्यो मनमा मेरो यही कुरा आईरहेको थियो । जसरी केही कुरा दिदीले नदिदा म दिदी सँग कुस्ती खेल्थे मलाई त्यस्तै नै लागिरहेको थियो तर बास्तममा मेरो आँखा अगाडी मेरै बाउ भनौदोले मेरो आमाको अस्मिता त्यो परपुरुषलाई बेचेको रहेछ । मेरो आमाको बलत्कार भएको रहेछ । अनि जब त्यो जडिया भित्र आयो तब आमाको अगाडी उभियो । म उठेर हेरी रहेको थिए ।

“ऐ कमली..यो कुरा बाहिर गर्लिस, कतै चुईक्क बोलिस भने तँलाई घाँटी निचोरेर मारिदिन्छु । बुझिस ?” औला ठडियाउदै त्यो जडियाले आमालाई भन्यो । आमा जोड जोडले रुन थाल्नु भयो । सन्नाटा थियो सबै तिर एकलासमा हाम्रो घर, जहिल्यै झगडा हुने अनि छिमेकी पनि टाढा टाढा । कोही आउने कुरा थिएन । त्यो रात आमाले रुदै काट्नु भयो । एउटा घर परिवार भएको मान्छेले पुरा जिन्दगी जोड्न कटाउछन, तर मेरो आमाको भाग्य कठै, बेच्नलाई केही नै नरहे पछि आफ्नै पत्निको अस्मिता बेच्यो त्यस जडिाले ्। दिनै भरी त्यस्तै थियो अवस्था । दिदी दिउसो त आउनु भयो तर मैले केही भन्न सकिन । सकिन हैन । मैले बुझेको थिईन त्यतिबेला हिजो के भएको थियो भनेर । आमाले पनि केही भन्नु भएन । कसरी भन्नु होस पनि आफ्नै घरमा, आफ्नै पति भनौदोले गरेको त्यस्तो पातकी कामको बारेमा । त्यसरी नै दिन बित्दै थिए । त्यस्ता जबरदस्ती हुने क्रम बढ्दै जान थाले । दिदी घरमा नभएको अबस्थामा आमालाई त्यसरी ३ पल्ट सम्म त्यस्तो पर्यो । कहिले काही २ जना आउथे । पालै पालो आमालाई त्यसो गर्थे । मलाई पनि रिस उठ्न थालेको थियो । म सोच्थे आखिर किन मेरो आमालाई त्यसो गर्छन भनेर । कति पल्ट त आफै पनि आमालाई बचाउन झम्टन्थे तर जडियाले मलाई तानेर लान्थियो । यसरी तान्थियो कि जस्तो म कुकुरको छाउरो हु । दिन यसरी नै बित्दै थिए ।

“बाबु । तिमीलाई मेरो धेरै माया लाग्छ कि दिदीको?” आमाले सोध्नु भयो । म खेलिरहेको थिए ।

“ मलाई त तँपाई कै लाग्छ नि आमा” मैले भने । हो पनि त । आमाको जस्तो माया अरु कस्को नै पो लाग्छ र । मैले त्यति भने पछि आमा रुन थाल्नु भयो । खै किन हो । मेरो कपालमा हात फिराउदै बोल्नु भएको मेरो आमाको आशु यसरी अविरल बग्न थाले कि मेरो टाउको भिज्न थाल्यो । हिक्क हिक्क गर्दै थाम्दै रुदै हुनु हुन्थियो । मलाई पनि नराम्रो लाग्न थाल्यो । मैले सोधे । “ किन रुनु भएका आमा?”

आमाले टाउको हल्लाउदै नाई को ईसारा दिनु भयो तर पनि मलाई राम्रो लागेको थिएन । सम्हाल्दै आमाले भन्न थाल्नु भयो ।

“बाबु तिमी ठुलो भएर धनी मान्छे हुनु ल ?” आशु पुस्दै भन्नु भयो । “ ठुलो भएर धेरै पैसा कमाउनु, धनी मान्छे हुनु । कहिल्यै पनि रक्सी नखानु ल । बिहे गरेर तिम्री बेहुलीलाई धेरै माया गर्नु ल बाबु ?” आमा भकान्एिर रुन थाल्नु भयो । म अन्योलमा परिरहेको थिए । को बेहुली ? के भन्दै हुनुहुन्छ भनेर मैले केही भेउ पाउन सकिरहेको थिईन । म ल मा ल मिलाएर बोलिरहेको थिए । किनकी मलाई लाग्दै थियो । मैले ल भने भनि आमा रुनुहुन्न भनेर । मेरो टाउकोमा निहुरिएर आमा रुदै हुनुहुन्थियो ।

कुराकानी भएका थिएनन् । खाना पाकेको थियो । लौकाको सब्जी थियो । आमाले खुवाउनु भयो मलाई । खै किन हो कोनि सँधै आफै खा भनेर कराई रहने मेरो आमाले मलाई आज आफ्नै हातले खाना खुवाउदै हुनुहुन्थियो । मलाई अफ्ठ्रो लाग्दै थियो । किनकी त्यो धेरै पछि भएको थियो । बा मैले कम्ति खान्छु भनेर आमाले जाँच्नु पो भएको हो कि भनेर मिठो नलागे पनि म खाई रहेको थिए । आखाँबाट टिलपिल आँशु बग्न खोज्दै थिए आमाको । तर पनि सम्हाल्दै मलाई फकाउदै आमाले मलाई खाना खुवाउनु भयो । मैले पनि ईमान्दार वालक जसरी खाए । दिदी साथीकै मा जानु भएको थियो । कुरो यस्तो रहेछ । दिदी साथीकोमा जादाँ जडियालाई सोधेर जाने, अनि आमालाई बेच्न पाउदा त्यस जडियाले दिदीलाई जान कुनै रोकटोक नगर्ने रहेछ । त्यही भएर प्रायः राति हामी आमाछोरा मात्र हुन्थिम । अनि त्यो दिन पनि त्यस्तै भयो । आमाले मलाई सुताउनु भयो । राति । लोडसेटिगं हुने त्यो जमानामा टुकि बत्ति पनि निभाएर मलाई आमाले सुताउनु त भयो तर अहिले सम्झिन्छु त्यो रात आमाले खाना खानु भएको थिएन । म निदाएछु ।

बिहान जब म बिउभिए । घरमा धेरै मान्छेको चहल पहल छ । यस्तो कि जस्तो कुनै भोज भतेरमा मान्छे भेला भएका हुन । अह हैन । त्यो भिडको चहल पहल अलिक भोज जस्तो थिएन एकदम हल्ला खल्ला थियो । यसरी उभिएका थिए जस्तो केही ठुलै कुरा देखेका हुन । म बाहिर आए । त्यो जडिया छाति पिटी पिटी रोईरहेको थियो । दिदीलाई छिमेकी आन्टिले समातेर राखेकी थिईन । दिदी पनि रुँदै हुनुहुन्थियो । मैले कुरा बुझिरहेको थिईन । आखिरी हुँदै के छ भनेर ? मलाई डर लाग्न थाल्यो । मलाई कता जाँउ कताँ जाँउ भयो । किनकी सबै रुदै छन । आमालाई खोज्न थाले । भिड छ सबै तिर । म पनि रुन थाले । “आमा, आमा......” तर आमालाई भेटिन । म चिच्याउदै रुन थाले । भिड चिरियो । बाहिर आँगनमा आमा सुतिरहनु भएको थियो आँगनमा । कसैले बोलेको सुन्दै थिए । “राति नै पासो लागेर मरेको रहेछ । हामीले त बिहान मात्रै थाह पायौ ।” भनेर ।